व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, बुटवलको परिचय
मुलुकको जनशक्तिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार अनुकुलको ज्ञान तथा सीप प्रदान गरी रोजगारीका अवसरहरुको उपयोग गर्न सक्षम, सीपयुक्त र दक्ष जनशक्तिको उत्पादन गरेर बेरोजगारी तथा गरिबी न्युनीकरणमा ठोस योगदान पुर्याउने उद्देश्यका साथ वि.सं. २०१६ सालमा विराटनगर जुट मिल परिसरमा व्यवसायिक प्रशिक्षण केन्द्र, विराटनगर स्थापना भएको हो । वि. सं.२०३३ सालमा हेटौडामा श्रमिक आपूर्ति केन्द्रको स्थापना, वि.सं.२०३४ सालमा काठमाण्डौमा केश कर्तन तालिम केन्द्रको स्थापना नै व्यावसायिक तथा सीप विकास तालिम कार्यक्रमको शुरुवात वा प्रस्थान विन्दु मानिन्छ । श्रम र रोजगारसँग सम्बन्धित भई विभिन्न समयमा विभिन्न नामबाट सुरु भएको तालिम कार्यक्रमहरुलाई एकीकृत गरी बार्षिक कार्यक्रमका रुपमा आर्थिक वर्ष २०६१/०६२ बाट देशभित्र रहेका सबै तालिम केन्द्रहरूको केन्द्रीय निकायको रूपमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र (विभाग स्तरीय कार्यालय) भैसैपाटी रहने व्यवस्था भएको हो । सो केन्द्र अन्तरर्गत १६ वटा तालिम केन्द्रहरू अस्तित्वमा रहेकोमा १३ वटा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरू नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/०६/०५ को निर्णयले सम्वन्धित प्रदेश सरकारमा हस्तान्तरण भै गएको। देशका विभिन्न भागमा छरिएर रहेका युवा युवतीहरुलाई सीपमूलक तालिममा पहुँच अभिवृद्धि गर्ने तथा सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले विभिन्न १६ स्थानमा रहेका श्रम तथा रोजगार मन्त्रालय अन्तरगत व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको स्थापना भएकोमा देश संघीय संरचनामा गए सँगै ती व्यवसायिक तथा सीप विकास तालिम केन्द्रहरुलाई पुनः संरचना गरेर भैंसेपाटी, बुटवल र इटहरीमा रहने गरी तीनवटा तालिम केन्द्रहरुलाई वि.सं. २०७५।०६।१२ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको रुपमा रहने निर्णय गरियो । त्यसैगरी नेपाल राजपत्रमा मिति २०८०।०८।११ गते प्रकाशित सूचना बमोजिम राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश, २०८०, जारी भइ यस कार्यालयको नाम व्यवसायिक प्रशिक्षण केन्द्र, बुटवल कायम भएको हो । साथै साविक व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलको दरबन्दी संरचनामा कार्यकारी निर्देशक (उपसचिव, रा.प.द्धितीय श्रेणी, प्रशासन सामान्य प्रशासन - १) सहित १३ जना कर्मचारीहरुको दरबन्दी रहेकोमा सोही दरबन्दी संरचना यथावत् हुने गरी कार्यालय प्रमुखलाई केन्द्र प्रमुख रहने गरी व्यवस्था गरिएको छ ।
यस अर्थमा व्यावसायिक प्रशिक्षण केन्द्र, बुटवललाई लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा आसपासका क्षेत्रमा श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन, रोजगारी तथा स्वरोजगार प्रवर्द्धन र उद्यमशीलता विकासमा योगदान पुर्याउने संघीय सरकारी तालिम केन्द्रका रूपमा परिचित गराउन सकिन्छ।